साइबेरियामा अत्यन्तै दुर्लभ बच्चा म्यामथ फेला

साइबेरियामा अत्यन्तै दुर्लभ बच्चा म्यामथ फेला


ग्लोब नेपाल
540
Shares

रुसी वैज्ञानिकहरूले याकुटियाको पर्माफ्रस्टले ढाकिएको क्षेत्रमा फेला परेको बच्चा म्यामथको उल्लेखनीय रूपमा संरक्षित अवशेषहरू प्रदर्शन गरेका छन् । पचास हजार पुरानो पोथी म्यामथलाई ‘याना’ नाम दिइएको छ । यो यसै गर्मीमा फेला परेको नदीको नामबाट राखिएको हो ।

विशेषज्ञहरूका अनुसार ‘याना’ विश्वकै सबैभन्दा राम्रोसँग संरक्षित म्यामथको शव हो र यो अहिलेसम्म फेला परेका सात पूर्ण अवशेषमध्ये एक हो । मृत्यु हुँदाको उमेर ‘एक वर्ष वा केही बढी’ अनुमान गरिएको छ, जसको सही उमेर पत्ता लगाउन अब अध्ययनहरू गरिनेछ । क्षेत्रीय राजधानी याकुत्स्कको फेडरल युनिभर्सिटी अफ द नर्थ इस्टमा शव प्रदर्शन गरिएको संस्थाले विज्ञप्तिमा जनाएको छ ।

“म्यामथको असाधारण संरक्षणले हामी सबैलाई आश्चर्यचकित पार्‍यो”, कुलपति अनातोली निकोलायेभले भने । अनुसन्धानकर्ता म्याक्सिम चेप्रासोभले यो एउटा ‘अद्वितीय खोज’ भएको बताए ।

अवशेषको तौल १८० किलोग्राम छ र यो १२० सेन्टिमिटर अग्लो र २०० सेन्टिमिटर लामो छ । बटागाइका अनुसन्धान केन्द्र नजिकै शव उत्खनन गरिएको थियो । त्यहाँ अन्य प्रागऐतिहासिक जनावरहरू-घोडा, बाइसन र लेमिङको अवशेषहरू पनि फेला परेका छन् ।

विश्वविद्यालयका अनुसार यो खोजअघि विश्वमा जम्मा छवटा म्यामथका शवहरू फेला परेका थिए- पाँचवटा रुसमा र एउटा क्यानडामा ।

याकुटिया आर्कटिक महासागरको सिमानामा रहेको दुर्गम क्षेत्र हो । यसको पर्माफ्रस्टले विशाल फ्रिजरको रूपमा काम गर्दछ । यसले प्रागऐतिहासिक जनावरहरूको अवशेषहरू सुरक्षित गर्दछ ।