काठमाडौं । दक्षिण कोरियामा दुर्घटनाग्रस्त विमानको दुवै ब्ल्याक बक्स (श्याम पेटिका) भेटिएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।
आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त दक्षिण कोरियाली विमानका दुबै ब्ल्याक बक्स( (श्याम पेटिका)हरू उडान तथ्याँक तथा ध्वनि अभिलेख (भ्वाइस रेकर्ड )सहित बरामद गरिएको भूमि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले श्रब्यदृश्य (भिडियो)बाट विमानको अवतरण दाँते (ल्यान्डिङ गियर )नखुलेको बताएको छ । तर अभिलेखन (रेकर्डिङ उपकरण)बाट उडान तथ्याँक प्रयोग गरेर थप अनुसन्धान गर्ने बताएको छ ।
विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्यान्डका नागरिकसहित १७५ यात्रु रहेका थिए भने ६ जना चालक दलका सदस्य थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलका धावनमार्ग स्थानीय समय १ जनवरी बिहान ५ बजेसम्म बन्द रहने मन्त्रालयले जनाएको छ । उद्धार कार्य अझै जारी रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाको विमान दुर्घटनापछि सयौं आपतकालीन कर्मचारी उद्धार प्रयासमा सामेल छन् ।
दक्षिण कोरियाको जिओला प्रान्तको मुआनमा सेना, प्रहरी र सरकारका १,५७० भन्दा बढी कर्मचारीहरू पुन:प्राप्ति (रिकभरी )प्रयासमा सहयोग गर्न खटाइएको यातायात मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रालयले विमानस्थल नियन्त्रण कक्ष (कन्ट्रोल टावर)का कर्मचारीहरूको अन्तर्वार्ता लिने जनाएको छ ।
विमानमा सवार १८१ जनामध्ये दुई चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।
स्थानीय टेलिभिजनले प्रसारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ ।
यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।
प्रतिक्रिया