काठमाडौं । विद्युत् महसुलको बक्यौता असुल्न उद्योगीहरुले नयाँ उपाय सुझाएका छन् । निर्माणको सिजनमा कम उत्पादन गर्ने र मूल्य वृद्धि गर्ने उपाय उद्योगीहरुले निकालेका छन् । उद्योगीहरुले यो उपाय बैंककको एउटा होटलमा बसेर निकालेको बताइएको छ ।
सिमेन्ट उद्योगीहरुले निरन्तर मूल्यवृद्धि गरिरहेका छन् । पुस मसान्तसम्म प्रति बोरा ७५० रुपैयाँ पु¥याउने उनीहरुको योजना छ । प्रत्येक दिन एउटा उद्योगले २० हजार बोराभन्दा बढी उत्पादन नगर्ने उद्योगीहरुले सहमति गरेका छन् । विकास निर्माणको सिजनमा सिमेन्टको मूल्य वृद्धि गरेर उद्योगहरुले नै कालो बजारी गरिरहेका छन् ।
यो मूल्यवृद्धि र कालो बजारी पुस मसान्तसम्म नरोकिने बताइएको छ । यसरी कम उत्पादन र मूल्यवृद्धि गर्दा उद्योगीहरुले ४० देखि ५० लाख रुपैयाँ प्रति दिन अतिरिक्त आम्दानी गर्ने तथ्यांक उनीहरुले निकालेका छन् ।
निर्माण व्यवसायी आन्दोलनको तयारीमा
विकास निर्माणको सिजनमा निर्माण व्यवसायीले आन्दोलन तयारी गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन गरी २७ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने जानकारी दिएका छन् ।
महासंघका महासचिव रोशन दाहालका अनुसार सिमेन्टको मूल्यवृद्धि, सरकारबाट निर्माण व्यवसायीले भुक्तानी नपाउनु र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको जटिलताविरुद्ध आन्दोलनको तयारी गर्नुपरेको हो । निर्माण कार्य हुने सिजनमै उद्योगीबाट विनाकारण सिमेन्टको मूल्य वृद्धिले निर्माण क्षेत्र धराशायी भएको पत्रकार सम्मेलनमा बताइयो ।
निर्माण व्यवसायीको भुक्तानीमा ढिलाई र सिमेन्टको मूल्य वृद्धि देखाएर निर्माण व्यवसायीले काम रोक्ने बाहना पाएका छन् । समस्याको गाँठो फुकाउनुभन्दा पनि रमिते हेरेर बसेको सरकार विकास निर्माणको बाधक बनेको टिप्पर्णी गरिएको छ ।
प्रतिक्रिया