काभ्रेपलाञ्चाेक । गएको असोज दोस्रो हप्ताको बाढी पहिरोले क्षतिग्रस्त काभ्रेको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।
धुलिखेल नगरपालिकाले गएको कात्तिक पहिलो हप्ता नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि प्रस्ताव गरेको थियो ।
प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जीआईजेड) मार्फत नेपालमा रहेको दूतावासले एक करोड ४२ लाख २५ हजार रुपैयाँ सहयोग गर्न धुलिखेलका मेयर अशोक ब्याञ्जू र जीआईजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतानुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने मेयर ब्याञ्जूले जानकारी दिए । उनका अनुसार यो रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ ।
बाढी पहिरोले आयोजना क्षतिग्रस्त हुँदा नगरको वडा नम्बर ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकाममा रहेका सरकारी कार्यालयमा अहिलेसम्म खानेपानी आपूर्तिमा समस्या रहेको छ ।
यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनर्निर्माणपछि नगरमा पानी वितरण भएको छ । गएको दुई हप्तामा अस्थायी रूपमा क्षतिग्रस्त मुख्य ठाउँमा पाइप जडान गरिएपछि धुलिखेलका उपभोक्ताको घरमा पानी वितरण थालिएको समितिले जनाएको हो । बाढी पहिरोले तीन दशक अघिदेखि सञ्चालनमा रहेको आयोजनामा ठूलो क्षति पुगेको थियो ।
प्रतिक्रिया