जय ट्रफीमा सुरूवाती दुवै खेल बराबरीमा सकियो

जय ट्रफीमा सुरूवाती दुवै खेल बराबरीमा सकियो

मधेशका मयनकाे शतक, दुई खेलाडीले लिए १०-१० विकेट



जनकपुर । जय ट्रफी एलिट कप क्रिकेटमा सुरूवाती दुवै खेल बराबरीमा सकिएकाे छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा मधेश प्रदेश र बाग्मती प्रदेशबिचको खेल बराबरीमा सकिएको हाे ।

आर्मीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो दिनको समाप्तिमा ५ विकेट गुमाएर ८८ रन बनायो । दोस्रो पारीमा पुलिसका अमित श्रेष्ठले ३६ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले २/२ विकेट लिए ।

दोस्रो पारीमा आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।

यस्तै मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बाग्मतीले दोस्रो दिनको समाप्तिमा ६ विकेट गुमाएर ९७ रन बनायाे । दोस्रो पारीमा बाग्मतीका ऋत गौतमले २५ रन बनाए । मधेशका हरिशङ्कर शाहले ३ विकेट लिए ।

दोस्रो पारीमा मधेशका मयन यादवले शतक बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।

हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

मधेशका मयनकाे शतक

जनकपुरमा भएको बागमती र मधेशबीचको खेलमा मधेशका मयन यादवले शतक प्रहार गरे । उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

मयनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरेर १०० रन प्रहार गरेका हुन् । मयनले प्रधानमन्त्री कपमा पनि सुदूरपश्चिमविरूद्ध शतक प्रहार गरेका थिए । १०८ बल मा १०६ बनाएपछि उनलाइ बागमतीका कप्तान सन्दीप लामिछानेले आउट गराएका छन् ।

दुई खेलाडीले लिए १०-१० विकेट

जय ट्रफीको पहिलो दुई खेल सकिदा दुई खेलाडीले १०-१० विकेट लिए । बामगतीका कप्तान सन्दीप लामिछानेले दुवै इनिङग्समा ५-५ विकेट लिएर प्लेयर अफ दि म्याच चुनिए । यता पुलिसविरूद्ध शाहब अलामले १० विकेट लिन सफल भए ।

पहिलो इनिङ्ग्समा ८ विकेट लिएका शाहबले दोस्रो इनिङग्समा २ विकेट लिएसँगै १० विकेट पूरा गर्न सफल भए । उनी पनि खेलको प्लेयर अफ दि म्याच बने ।