नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा रहेकाे खुर्सानी खोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि याे खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उहाँले गाडीलाई आलोपालो सञ्चालनमा ल्याइएको बताए ।
सूचना अधिकारी बोहराले बुटवल–नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको उल्लेख गरे । हिजाेदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान याे खण्डमा गाडी आवागमन राकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीय बासिन्दालगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।
प्रतिक्रिया