काठमाडौं । जिल्ला अदालत काठमाडौंले फवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे ३ करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ परेका सबै ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । साइबरको माध्यमबाट रकम ठगी गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिका–१० का २० वर्षीय राहुल ठाकुर, सोही ठाउँका अर्का १९ वर्षीय पुरुषोत्तम साहलाई जनही ५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।
उदयपुरको बेलका–५ का २७ वर्षीय दीपक थापा मगरलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । बेलका नगरपालिका–४ का २० वर्षीय कमल थापा मगरलाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
सप्तरीका २१ वर्षीय कृष्णरमण राउत, सप्तरीकै राजविराज नगरपालिका–७ का ३० वर्षीय सञ्जिवकुमार शर्मा, सुनसरीको धरान उपमहानगरपालिका–८ का २४ वर्षीय सन्देश राई र सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का २२ वर्षीय सागर कुमार साह र ललितपुरकी ४० वर्षीया त्रिगुण रत्न बज्राचार्यलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न न्यायाधीश कार्कीले इजलासले आदेश दिएको छ।
सिटिजन्स बैंकको सफ्टवेयर एफवान सफ्टले नै निर्माण गरेको थियो। त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्गस्थित शाखामा खाता खोलेको थियो । उक्त सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो । यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडू जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको थियो ।
९ जना पक्राउ परे पनि बाँकी भने फरार थिए । ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको थियो । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको थियो ।
प्रतिक्रिया