बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु

बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु



बाँके । राप्ती सोनारी गाउँपालिका–१ कुसुममा रहेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शूरु भएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना शुरु गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

चरा गणनाका लागि राप्तीमा पुग्नुभएका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गइरहेको बताए । नदी, सिमसार क्षेत्र तथा जलासयमा मानवबाट हुने गतिविधिले गर्दा चराको बासस्थान लोप हुन पुगेको उनको भनाइ छ । खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको बासस्थान लोप हुँदै गइरहेको उनी बताउछन् ।

विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकोमा यसवर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए । उनका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलासयमा आगन्तुक चराकोसमेत बासस्थान रहेको पाइएको छ ।

चराको बासस्थानमा भइरहेका निर्माणकार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतका कारण चराको बासस्थान लोप भएर सङ्ख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताए । चर संरक्षणका लागि संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्नेहरु पनि सजग हुन आवश्यक रहेको उनको भनाइ छ ।