जानकी (बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।
पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज बिकले जानकारी दिए ।
उनका अनुसार, पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको १२ लाख ९४ हजार १५८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । एक महिनामा दर्ता भएका ११७ वटा मुद्दामा १२१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फर्छ्योट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका ६८१ ठाडो उजुरीतर्फ ६६८ फर्छ्योट भएको र १३ वटा बाँकी निवेदन फर्छ्योट प्रक्रियामा छन् ।
जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार, अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सातवटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार रुपैयाँ आठ जरिवाना गरिएको छ । सोही अवधिमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ ।
त्यसैगरी, बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चारवटा मोटरसाइकल र १० वटा स्मार्टफोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको उल्लेख छ । समुदाय प्रहरी सहकार्यलगायतका गतिविधिअन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।
प्रतिक्रिया