विश्व कुष्ठरोग दिवस : नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक

विश्व कुष्ठरोग दिवस : नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक



काठमाडौं । आज ७२ औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदैछ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको छ ।

नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेकोे विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा राजेश पाण्डवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ ।

उनले लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै स्थानीय तहले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको प्रतिवेदन पेस गरेको बताए । उनले नेपालमा राष्ट्रियस्तरमा कुष्ठरोगका बिरामीको सङ्ख्यामा उल्लेखनीय कमी आएको बताए । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिराहा, रौतहट, कपिलवस्तु, बाँकेलगायत १८ जिल्ला अझै पनि उच्च जोखिममा रहेका छन् । उनले नेपालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ७२ जना मात्र कुष्ठरोगका नयाँ बिरामी फेला परेका बताए । उनी कुष्ठरोगका बिरामीलाई लाञ्छना होइन माया गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार कुष्ठरोगबारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढावा दिने, उपचार खोज्नमा ढिलाइ र रोगको सङ्क्रमणलाई अझ बढाउने गर्दछ । निरन्तर लाञ्छना र विभेदले सङ्क्रमित व्यक्तिलाई प्रभाव पार्ने मात्र नभई निदान तथा उपचारका प्रयासमा अवरोध सिर्जना गर्ने गर्दछ । लाञ्छना र विभेदलाई समाधान गर्ने, जनचेतना बढाउने, आमजनतालाई शिक्षा दिने र समावेशी नीति कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्तिविरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २०औँ ग्लोबल अपिल २०२५ लाई अङ्गीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । सरकारले कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।

लक्षण
कुष्ठरोगका लक्षण शरीरमा छुँदा थाहा नपाउने, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता हुन् ।

यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेकामा उक्त विज्ञप्तिमा भनिएको छ ।