काठमाडौं । गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् ।
उनीहरूलाई आफ्नै कोठामा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेटिङ एप्लिकेशनमार्फत् विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा उनीहरू संलग्न हुने गरेको पाइएको छ । उनीहरूले ‘मन्त्र १०८’ नामक वेबसाइटबाट जुवा खेलाउने, रकम संकलन गर्ने र क्रिप्टो करेन्सीबाट ट्रेड गर्ने गरेको आचार्यले बताए ।
उनीहरूले हालसम्म बैंक खाता तथा बाइनान्स आइडी प्रयोग गरी हालसम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को दफा १२५ अन्तर्गत नुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
पक्राउ परेका व्यक्तिको कोठा खानतलासी गर्दा चार थान मोबाइल सेट, कम्प्युटर १ थान, एनसेल ५० थान सिम, एनटिसी सिम ९ थान, विभिन्न व्यक्तिको नाममा रहेका २७ थान एटिएम कार्ड, डायरी ५ थान, चेकबुक ७ थान र नगद ९० हजार बरामद भएको आचार्यले बताए ।
प्रतिक्रिया