भ्रामक सूचना फैलाउनेलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

भ्रामक सूचना फैलाउनेलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना



काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रियसभामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानून उल्लंघन गर्नेलाई सजायसम्मको व्यवस्था रहेको छ । आज दर्ता भएको विधेयकमा फेसबुक, भाइबर ,ह्वाट्सएप, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने उल्लेख छ । संसद्बाट विधेयक पास भएर राजपत्रमा प्रकाशित भएको ६ महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्नेछ ।

सूचीकरण र दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले चल्न नदिनेसम्मका प्रावधान विधेयकमा छन् । अहिले नेपालमा गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जाल दर्ता भएर करसमेत तिर्न थालिसकेका छन् ।

सामाजिक सञ्जालका सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न, नियमन गर्न आवश्यक देखिएकोले विधेयक संसद्मा पेस भएको प्रस्तावनामा उल्लेख छ ।

अब सामाजिक सञ्जालका प्रयोगकर्ताले जथाभाबी लेखेमा कडा दण्ड जरिवाना हुने विधेयकमा उल्लेख छ । विधेयकमा साइबर बुलिङ गरेमा ३ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

साइबर स्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य/दृश्य, सङ्केत वा सन्देश पठाउने, पोस्ट गर्ने, शेयर गर्ने, कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई साइबल बुलिङमा राखिएको छ । यस्तै भ्रामक सूचना र डीपफेक भिडियो अपलोड वा प्रसार गर्दा पनि कारबाहीमा पर्ने विधेयकमा उल्लेख छ ।

पहिचान खुलाएर मात्र सामाजिक सञ्जाल चलाउन पाइनेसहितका प्रावधान विधेयकमा छ । विधेयकमा संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेको ३१औँ दिनदेखि कानुन कार्यान्वयनमा आउने उल्लेख छ ।