काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका ४२ वर्षीय कुबेर तिवारी झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका तिवारी १८ माघमा फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा मृत फेला परेका हुन्। उनका भाइ हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाको जानकारी पाएका थिए। कुबेर विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए र पछिल्लो ८ वर्षदेखि नेपाल आएका थिएनन्।
रहस्यमयी भ्वाइस मेसेज
परिवारका अनुसार मृतक तिवारी नियमित रूपमा सम्पर्कमा रहन्थे। घटनाभन्दा केही दिनअघि उनले गाउँकै एक पुरुष र आफ्नी श्रीमतीकै कारण मर्न बाध्य भएको बताउँदै भ्वाइस म्यासेज पठाएका थिए। यस घटनाले उनको मृत्युलाई झन् शंकास्पद बनाएको छ।
भाइ हरिहर तिवारीका अनुसार कुबेरले आत्महत्या नगरेको र कसैले हत्या गरेको हुनसक्ने आशंका छ। मृतकले नाम लिएका व्यक्तिहरू विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको हरिहरको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार परिवारले जाहेरी दिन आएको भए पनि दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना कसैलाई दोषी करार गर्न नसकिने बताए।
मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन नभई शव नबुझ्ने अडान लिएको छ। कम्पनीले शव नेपाल पठाइदिने बताएको भए पनि परिवारले न्याय नपाएसम्म शव ग्रहण नगर्ने बताएका छन्।
जिल्लामा जाहेरी अस्वीकार भएपछि मृतकका परिवारले प्रहरीको साइबर ब्युरोमा समेत उजुरी दिन खोजेका थिए। तर, त्यहाँ पनि जाहेरी नलिएको उनीहरूको भनाइ छ।
यूएईमा झुण्डिएको अवस्थामा फेला परेका कुबेर तिवारीको मृत्यु आत्महत्या मात्र हो कि कुनै षड्यन्त्र अन्तर्गत हत्या, यसको निष्पक्ष छानबिनको माग गरिएको छ। मृतकले आफ्नै भ्वाइस मेसेजमा मृत्युको कारण खुलाएपछि घटनाले गम्भीर मोड लिएको छ। अब प्रहरीले यस विषयलाई गहिरो अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनु आवश्यक देखिन्छ।
प्रतिक्रिया