नयाँदिल्ली । भारतको दिल्ली बिधान सभा निर्वाचनको मतपरिणामले भारतीय जनता पार्टी(भाजपा) को सरकार बन्ने भएको छ । ७० सिट रहेको दिल्ली विधान सभामा बहुमतका लागि ३६ सीट चाहिन्छ । भाजपाले ४८ सिट जितेको छ भने आम आदमी पार्टी (आप) ले २२ जितेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।
पछिल्लो समय लगातार दिल्लीमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी आपले अघिल्लो निर्वाचनभन्दा ४० सिट घटाएको छ भने भाजपाले ४० सिट जितेको छ । अन्य राजनीतिक दलले कुनै सिट जितेनन् । यो बहुमत प्राप्तसँगै २७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्किएको हो ।
आम आदमीका धेरै ठूला नेताले चुनाव हारेका छन् । नयाँ दिल्लीबाट अरविन्द केजरीवाल पराजित भएका छन् । मनिष सिसोदियालाई जंगपुरा सिटबाट पनि हार बेहोर्नु परेको छ । तर कालकाजी सिटबाट हालकी दिल्लीकी मुख्यमन्त्री आतिषी विजयी भएकी छन् । आम आदमी पार्टीले सन् २०१३, २०१५ र २०२० मा दिल्लीमा सरकार बनायो र अरविन्द केजरीवाल मुख्यमन्त्री बने। अतिशी सेप्टेम्बर २०२४ देखि मुख्यमन्त्री रहेकी छिन् । यसअघि सन् १९९८, २००३ र २००८ मा कांग्रेसले दिल्ली विधान सभामा जितेको थियो र शीला दीक्षित मुख्यमन्त्री बनेकी थिइन् । सन् १९९३ मा पहिलो पटक दिल्लीमा भाजपा विजयी भएको थियो ।
आम आदमीको उदयलाई धेरैले आश्चर्य मानेका थिए । ३ करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।
दिल्ली विधानसभा चुनावमा पार्टीको पराजयपछि आम आदमी पार्टीका राष्ट्रिय संयोजक केजरीवालले पहिलो प्रतिक्रिया दिएका छन् । उनले जनताको निर्णयलाई स्वीकार गर्दे भाजपालाई बधाइ दिएका छन् ।
प्रतिक्रिया