ड्युटीमा रहेका प्रहरी कुट्ने एमाले विद्यार्थी नेताको मुद्दा डिसमिस !

ड्युटीमा रहेका प्रहरी कुट्ने एमाले विद्यार्थी नेताको मुद्दा डिसमिस !


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेताको मुद्दा डिसमिस गरेर उन्मुक्ति प्रपञ्च रचिएको बुझिएको छ ।

माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’ मा खटिएका प्रहरीलाई (एमाले) निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेको थियो । आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका छन् । फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सहसचिव हुन् ।

पक्राउ परेकाहरूलाई प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरू सामान्य धरौटीमा छुट्छन् । माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको बिरुद्धमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेहरू विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलेको थियो ।

सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र सौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ ।

तर, अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले अनुसन्धानको दायरामा नै ल्याएको छैन । प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको भए पनि उनलाई अनुसन्धानको दायरामा नल्याइएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी वृत्त दरबारमार्गमा एकजना अधिकृत भन्छन्, ‘प्रहरी जवानमाथि आक्रमण गर्नेहरूलाई विभागले नै जोगाएको छ ।’

प्रहरीमाथि आक्रमण गर्नेमा जोशीको संलग्नता नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् । सुरक्षा ड्युटीमा खटिएकाहरूलाई प्रधानमन्त्रीका नाम लिएर निर्घात कुट्दा अभद्र व्यवहारको मुद्दा बनाएर घटना डिसमिस पार्न खोजिएको छ ।