प्रयागराज । महाकुम्भ मेला हजारौं वर्ष पुरानो हिन्दू महाकाव्य र साहित्यसँग सम्बन्धित छ । महाकुम्भ मेला महाभारत र पुराणहरुमा उल्लेखित छ । समुद्र मन्थन गर्दा अमरताको अमृतका थोपाहरू चार स्थानहरूमा खसेका थिए । प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा अमृतका थापा खसेको विश्वास गरिन्छ ।
महाकुम्भ मेला एक दुर्लभ घटना हो । दुर्लभ घटना भनेको त्यस्तो हो जुन विरलै वा काल्पनिक हुन्छ। भनिन्छ–दुर्लभ घटनामा सहभागी भएको मानिसमा महत्त्वपूर्ण प्रभाव पर्न सक्छ। प्रत्येक १४४ वर्षमा प्रयागराजमा महाकुम्भ मेला भव्य रूपमा लाग्छ, जसलाई दुर्लभ घटनाको रुपमा लिइन्छ। अहिले यो त्यही शुभसाइतको महाकुम्भ मेला हो । महाकुम्भ मेला १२ कुम्भपछि आउँछ। कुम्भ मेला भने १२ बर्षमा यी ४ ठाउँहरुमा १-१ पटक अर्थात हरेक ३ बर्षको अन्तरालमा लाग्छ ।

यो विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट हो, जसको हिन्दू पौराणिक कथासँग गहिरो सम्बन्ध छ । जहाँ सहभागीहरूले आफ्ना पापहरूको लागि क्षमा खोज्छन् र मोक्ष वा आध्यात्मिक मुक्तिको आकांक्षा राख्छन् ।
प्रयागराजमा महाकुम्भ मेला १३ जनवरीदेखि २६ फेब्रुअरीसम्म सञ्चालन हुनेछ। जहाँ १० करोडभन्दा बढी श्रद्धालुले स्नान गर्ने अनुमान छ । १४ जनवरीमा एकै दिन झन्डै ३ करोड बढीले अमृत स्नान गरेको तथ्यांक देखाइएको थियो । यस हिसाबले एक महिनासम्ममा अनुमान गरेभन्दा झन्डै दोब्बर श्रद्धालुले अमृतस्नान गर्ने मेला आयोजकले बताइएको छ ।

महाकुम्भका लागि ६ हजार हेक्टर क्षेत्रफल छुट्याइको छ। यसमध्ये ४ हजार हेक्टरमा मेला छ भने १ हजार ९ सय हेक्टरमा पार्किङ बनाइएको छ। श्रद्धालुहरूको सुरक्षामा अभूतपूर्व व्यवस्था गरिएको छ। संगममा स्नान गर्नेहरूलाई डुब्न नदिन जल प्रहरी र अन्डरवाटर ड्रोन परिचालन गरिएको छ। यी ड्रोनहरू ३ सय मिटरको दायराभित्र डुब्ने व्यक्ति पहिचान गर्न सक्षम छन् । ड्रोनले १ मिनेटमै १.५ किलोमिटरको दूरी तय गर्न सक्छ।
महाकुम्भ मेलामा भीड व्यवस्थापन गर्न पार्किङ क्षेत्रलाई सहरभन्दा बाहिर राखिएको छ।




प्रतिक्रिया