हमासले बन्धक मुक्त नगरे गाजामा युद्धविराम अन्त्य हुने इजरायलको चेतावनी

हमासले बन्धक मुक्त नगरे गाजामा युद्धविराम अन्त्य हुने इजरायलको चेतावनी



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् । हमासले यो साताको अन्तिममा सम्झौता अनुसार इजरायली बन्धकलाई रिहा नगर्ने प्रतिक्रिया दिए लगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिएका हुन् । हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नेतन्याहूले इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको समेत बताएका छन् । हमासले थप बन्धकहरूलाई रिहा गर्ने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने घोषणा गरेपछि प्रतिक्रिया स्वरूप नेतान्याहूले इजरायली सेनालाई गाजा भित्र र वरपर जम्मा हुन आदेश दिएको बताए ।

नेतान्याहूले बाँकी ७६ जना बन्धकहरूको रिहाइको माग गरिरहेका थिए वा यस शनिबार रिहा हुने भनिएका तीन जनाको मात्र माग गरिरहेका थिए भन्ने कुरा स्पष्ट पारेका छैनन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसका लागि समय सीमा हमास आफैं तय गर्ने बताएका छन् । उनले हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका हुन् ।

सोमबार, हमासले इजरायलले तीन हप्ता पुरानो युद्धविराम सम्झौताको उल्लंघन गरेको र महत्वपूर्ण मानवीय सहायता अवरुद्ध गरेको भन्दै उनीहरूको रिहाइमा ढिलाइ गर्ने बताएको थियो ।