काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौँको बबरमहलमा खानेपानीको पाइप फुटेको छ ।
खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेपछि बुधबार दिउँसोदेखि बबरमहल क्षेत्र जलमग्न भएको हो । खानेपानीको पाइप फुटेको खबर सुनेलगत्तै खानेपानी मन्त्री प्रदीप यादवले बबरमहल क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गरेका छन् ।
पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको छ ।
सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ
एक्कासी बाढी पसेपछि बबरमहल क्षेत्रमा रहेका सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्तीसमेत डुबानमा परेका छन् ।
पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ रोकिएको छ । अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
यस्तै पानीको भेल पस्ने डरले काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । अस्पतालमा नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर झन्डै २ सय जनाको सुरक्षा टोली खटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया