सामुदायिक वनमा आगाे लगाउने दुई जना पक्राउ

सामुदायिक वनमा आगाे लगाउने दुई जना पक्राउ



पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय बासिन्दा सुवास पौडेल र रमेश पौडेललाई पक्राउ गरेको हो ।

उनीहरूले गएको माघ २९ गते वनमा आगो लगाएका प्रहरीको आरोप छ । डढेलोले वनजङ्गल, वन्यजन्तुको वासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयवासीले खबर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिए ।

नेपालमा हुने झण्डै ९६ प्रतिशत डढेलाेका घटना मानवीय क्रियाकलापका कारण हुने गरेका छन् । त्यसमा पनि ६६ प्रतिशतभन्दा धेरै जानी जानी लगाएको आगो फैलिएको पाइन्छ । वन ऐन २०७६ र मुलुकी अपराध संहिता २०७७ ले वनमा डढेलो लगाउनेलाई कैद र जरीवानाको व्यवस्था गरे पनि डढेलोका घटनामा अनुसन्धान कमै मात्र हुने गरेको पाइन्छ ।

डढेलो लगाउनेहरू गोठाला तथा सामान्य किसान परिवारका धेरै हुने भएकोले यसअघि भवितव्य नै मान्ने गरेकोमा डढेलोको प्रकोप धेरै बढेकोले अनुसन्धान र कारबाहीलाई तीव्रता दिन थालेको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछानेले बताए ।