काठमाडौं । अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-५ स्थित एक घरमा छापा मारेर मंगलबार भारतीयहरूलाई पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेका २२ जना बिहार राज्य र दुई जना उत्तरप्रदेशका हुन् ।
विश्वभर सञ्चालन हुने अनलाइनहरूमा बेटिङ साइटको प्रयोग गरी एजेन्टसँग सम्पर्क गरेर उनीहरूले जुवा खेलाएको बस्नेतले बताए ।
‘उनीहरूले ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरेर अनलाइन जुवा खेलाएको देखिएको छ, हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा भएको र निकालेको देखिन्छ,’ बस्नेतले भने ।
बस्नेतका अनुसार भारतीयहरूले घर नै भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको पाइएको छ । उनीहरूले हालसम्म एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार जुवा र सट्टाबाजी गर्न नहुने तथा विदेशी विमिमय नियमित गर्ने ऐन २०१९ अनुसारको कसुरमा पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको छ ।
कार्यालयले २४ जनालाई नै थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ ।
प्रतिक्रिया