काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ ।
सागको दररेट तोकेर गाउँपालिकाले स्थानीय बासिन्दासँग साग लिन सार्वजनिक अपीलसमेत गरेको छ । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए ।
उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघाट तथा जिल्लाको अन्य बजारमा लैजाँदा महँगो भाडा पर्ने भएपछि गाउँपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफूसँग अहिले रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ ।
यसअघि काभ्रेको मण्डनदेउपुर नगरपालिकाले मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको प्रयोग नगर्ने अठोटका साथ नगरपालिकाले स्थानीय उत्पादन मोहीको प्रवद्र्धन गर्न लागेको हो ।
नगरमा उत्पादन भएको दूध स्थानीय बजारमा बिक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध जिल्लाबाहिर पठाइने गरिएको नगर पशुपक्षी विकास शाखाले जनाएको छ ।
प्रतिक्रिया