ठमेलमा प्रहरी कुट्ने एमाले कार्यकर्ता १० हजार धरौटीमा रिहा

ठमेलमा प्रहरी कुट्ने एमाले कार्यकर्ता १० हजार धरौटीमा रिहा


ग्लोब नेपाल
513
Shares

काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता र एमाले कार्यकर्तालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार यस्तो आदेश दिएको हो। डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ।

अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी, ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल, गोपालबहादुर शाही र नवीनसिंह ऐरलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सौजन्य शाहीलाई पनि प्रतिवादी बनाइएको छ तर उनी फरार छन्।

सुरुमा अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान थालिएको थियो। तर यसअघि पनि पटक पटक पक्राउ परेर कारबाही भएको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको बताइएको छ ।