काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् ।
प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा. राणा र गृहमन्त्री रमेश लेखकले सो विश्वास दिलाएकी हुन् ।
मन्त्री डा. राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताएकी हुन् ।
प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँग पनि फोनवार्ता गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको जानकारी गराइन् ।


प्रतिक्रिया