काठमाडौं । अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली आज बुधबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए ।
अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा साङ्गोले बाँधेर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएकाे छ । डिपोर्ट भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र साङ्गोले बाँधेको बताएका छन् ।
डिपोर्ट हुनेमध्ये एकजना महिलाचाहिँ व्यावसायिक उडानमार्फत काठमाडौं आइपुगेकी छन् । डोटी घर भएर अमेरिका गएकी बिनिता व्यावसायिक उडानमार्फत काठमाडौं आएकी हुन् ।

काठमाडौं आएपछि अध्यागमन अधिकृतहरुसँग उनले भनेकी छन्, ‘डिपोर्टको निर्णय भएपछि म स्वदेश फर्किन राजी भएको हुनाले मलाई चार्टर्ड विमानमा पठाइएन ।’ उनी टेक्ससबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् । चार्टर्ड विमानबाट फर्काइएका ८ जनालाई चाहिँ टेक्ससबाट न्यूयोर्क र अल्वानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो ।
नेपाली सवार चार्टर्ड विमान इन्धन भर्न अल्वानियमा १ घण्टा रोकिएको डिपोर्ट भएकाहरूले बताएका छन । डिपोर्ट हुनेहरूमा दाङका ३ जना, रुकुम पूर्वका २ जना, रुकुम पश्चिमका २ जना, रोल्पाका १ जना र डोटीका १ जना छन् । विमानस्थल अध्यागमनमा कार्यरत एकजना अधिकृतका अनुसार सुस्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोप , कमल र दीपक डिपोर्ट भएका हुन् ।
उनीहरू लाखौँ खर्चेर अमेरिका पुगेका थिए । तर, सिमानाको पर्खाल कटेको केही बेरमा नै पक्राउ परेर हिरासतमा पुगेको खुलेको छ । बुधबार फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

फर्काएकाहरूलाई बबरमहल स्थित ब्यूरोको कार्यालयमा ल्याएर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । उनीहरू त्यहाँ ५ देखि ९ महिनासम्म डिटेन्समा बसेको एसपी कुवरले जानकारी दिए । काठमाडौंबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए ।
उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुगेको कुँवरले बताए । उनले भने, ‘त्यहाँसम्म पुग्दा लाखौँ खर्च गरेको देखिन्छ ।’ कुँवरका अनुसार उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि १ करोडसम्म खर्च गरेका छन् । उनी भन्छन्, ‘कसैले ४० लाख, कसैले ६५ लाख पनि खर्च गरेको देखिन्छ ।’
ब्राजिलमा पुगेपछि बिचौलियाले भने अनुसार उनीहरूले पासपोर्ट फ्याँकिदिए । त्यहाँबाट कोही विमानमा र केही सड्क मार्ग हुँदै मेक्सिको पुगेका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘ब्राजिलबाट शरणार्थी बनेर उनीहरू अमेरिका प्रवेश गरेको देखिन्छ ।’ फर्किनेहरू अधिकांश २० देखी ३५ वर्ष उमेर समूहका छन् ।
प्रतिक्रिया