को हुन् ३ देशको नागरिकता बोक्ने क्यानाडाली प्रधानमन्त्री मार्क कार्नी ?

को हुन् ३ देशको नागरिकता बोक्ने क्यानाडाली प्रधानमन्त्री मार्क कार्नी ?



नेपालमा दोहोरो नागरिकता दिनु हुन्छ कि हुँदैन भन्ने बहस चलिरहेका बेला क्यानडामा ३ वटा देशको नागरिकता लिएका मार्क जोसेफ कार्नी प्रधानमन्त्री बन्दैछन् । छिमेकी मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने धम्की दिएको बेला कार्नी प्रधानमन्त्री बन्न लागेकाले विश्वको ध्यान यतिबेला क्यानडातिर आकर्षित भएको छ ।

तीन देशको नागरिकता धारण गरेको व्यक्ति कसरी प्रधानमन्त्री बन्लान् भनेर धेरैलाई अनौठो लाग्न सक्ला । नागरिकता नै अलमल भएका व्यक्तिबाट देशको सार्वभौम रक्षा होला भन्ने प्रश्न एक हिसाबले उठाउन सकिएला, तर देशको सार्वभौम चार किल्ला मात्र होइन, अर्थतन्त्र पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने कुरा विगतमा कार्नीले निर्वाह गरेको भूमिकाले स्पष्ट सन्देश दिइसकेको छ ।

क्यानडालाई आर्थिक समस्यासँग जुध्ने नेतृत्व चाहिएको छ । छिमेकीसँग ब्यापार युद्ध गर्ने सेनापति चाहिएको छ, त्यसका लागि कार्नी उपयुक्त पात्र हुन भन्ने कुरा क्यानडाको लिबरल पार्टीले बुझ्यो । उत्तराधिकारीको चुनावी दौडमा पार्टी राजनीतिमा इतिहास बनाएका प्रमुख ३ जना थिए । पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई बलियो दाबेदार मानिएको थियो । तर पार्टी सदस्यहरूले गरेको मतदानबाट पूर्वअर्थमन्त्री फ्रिल्यान्ड होइन कार्नीले ८६ प्रतिशत मत प्राप्त गरे ।

व्यक्तिको क्षमतालाई भूगोलमा सीमित गरिनु हुन्न भन्ने प्रमाण पनि कार्नीले प्रस्तुत गरेका छन् । क्यानडाको प्रधानमन्त्री बन्नुअघि कार्नीको करिअर बैंक, वित्तीय क्षेत्र र खेलकुदसँग मात्र जोडिएको छ । उनले ५ वर्ष बैंक अफ क्यानडाको गर्भनर र लगत्तै ७ वर्ष बैंक अफ इग्ल्यान्डको गर्भनरका रुपमा सेवा गरेका थिए । देशको अर्थतन्त्र खस्किन नदिन कार्नीलाई क्यानडा र बेलायतले पालैपालो गर्भनर बनाएका हुन् ।

कार्नीको जन्म क्यानडाको उत्तरपश्चिमी क्षेत्रको फोर्ट स्मिथमा भएको थियो । उनी अल्बर्टाको एडमन्टनमा हुर्के । उनले सन् १९८८ मा हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरे । त्यसपछि अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्न गए । जहाँ उनले सन् १९९३ मा स्नातकोत्तर र १९९५ मा विद्यावारिधी हासिल गरे । सन् २००३ मा बैंक अफ क्यानडामा डेपुटी गभर्नरको रूपमा नियुक्त हुनुभन्दा पहिले उनले गोल्डम्यान स्याक्समा विभिन्न भूमिका सम्हालेका थिए ।

मार्क कार्नी

२००४ मा उनलाई क्यानडाको अर्थ विभागको लागि वरिष्ठ सहयोगी उपमन्त्रीको रूपमा जिम्मेवारी दिइएको थियो । २००७ मा कार्नीलाई बैंक अफ क्यानडाको गभर्नर नियुक्त गरिएको थियो । विश्वव्यापी वित्तीय संकटको समयमा उनी क्यानडाको गर्भनर बनेका थिए । यो संकटमा क्यानाडाली मौद्रिक नीतिका लागि उनी जिम्मेवार रहे । उनले क्यानडालाई वित्तीय संकटको प्रभावबाट जोगाएर महत्वपूर्ण भूमिका खेलेका थिए । उनले सन् २०१३ सम्म क्यानाडाली केन्द्रीय बैंकको नेतृत्व गरे ।

त्यसपछि उनी बैंक अफ इग्ल्याण्डको गर्भनर बनेर बेलायत गए । त्यसबेला बेलायत युरोपियन युनियनबाट अलग भएको घोषणा (ब्रेक्जिट) र कोभिड–१९ महामारीको प्रारम्भिक चरणमा थियो । त्यसबेला कार्नीले ब्रिटिश केन्द्रीय बैंकको नेतृत्व गरिरहेका थिए । बेलायतलाई ब्रेक्जिट र कोभिड–१९ को प्रभावबाट जोगाउने प्रयास गरेका थिए । भनिन्छ, यदि उनी गर्भनर नभएको भए बेलायती अर्थतन्त्रले नयाँ बाटो समात्न सक्थ्यो ।

अर्थतन्त्र सम्हाल्ने उनको क्षमता क्यानडा र बेलायतमा मात्र सीमित थिएन । धेरै ठूला कम्पनीहरुको वित्तीय सुधारको भूमिकामा र संयुक्त राष्ट्र संघको विशेष दूत भएर जिम्मेवारी निर्वाह गरेको अनुभव पनि उनीसँग छ । त्यसपछि उनी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको सल्लाहकार र लिबरल पार्टीको आर्थिक वृद्धि कार्यदलको अध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ ।

सन् १९६५ मार्च १६ मा जन्मेका कार्नी घरमै बस्ने आमा भली मार्गरेट र हाइस्कुल प्रिन्सिपल रोबर्ट जेम्स मार्टिनका छोरा हुन् । उनका हजुरबुवा काउन्टी मेयोका आइररिस थिए । उनी ६ वर्षको हुँदा उनको परिवार एडमन्टनबाट अल्बर्टामा सरेको हो । उनका बुवा सन् १९८० मा क्यानेडियन संघीय चुनावमा एडमन्टन साउथका लागि लिबरल उम्मेदवार थिए । निर्वाचनमा उनी दोस्रो भए । कार्नी १० वर्षको हुँदा उनीकी आमा शिक्षामा भविष्य बनाउन विश्वविद्यालयमा फर्किन् ।

कार्नीका ३ भाइबहिनीहरु छन् । जेठो दाइ सेन, बहिनी ब्रेन्डा र कान्छो भाइ ब्रायन हुन् । कार्नीले आंशिक छात्रवृत्ति र आर्थिक सहयोगमा हार्वड विश्वविद्यालयमा अध्ययन गर्नुअघि सेन्ट फ्रान्सिस जेभिएर हाइस्कुलमा पढेका थिए । कार्नीले १९८८ मा हार्बडबाट अर्थशास्त्रमा उच्च सम्मानका साथ स्नातक डिग्री लिए । उनले अक्सफोर्ड युनिर्भसिटीको सेन्ट पिटर्स कलेज र नफिल्ड कलेजमा स्नातकोत्तर अध्ययन गरे ।

हार्वडमा पढ्दा उनी विश्वविद्यालय आइस हक्की टोलीका रिर्जभ गोलकिपर थिए । जनरल म्यानेजर पिटर चियारेली र पूर्व आइस हक्की खेलाडी मार्क बेनिङ एउटै कोठामा बस्थे । कार्नी डेभिड लामेटीसँगै अक्सफोर्ड विश्वविद्यालय आइस हक्की क्लबका उपकप्तान पनि थिए ।

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दा कार्नीको भेट डायना फक्ससँग भयो । डायना विकासशील राष्ट्रहरूमा विशेषज्ञता हासिल गर्ने बेलायती अर्थशास्त्री हुन । उनी विभिन्न वातावरणीय र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय छिन् । जुलाई १९९४ मा उनले विद्यावारिधि शोध पूरा गर्दै गर्दा दम्पतीमा रुपान्तरण भए । उनीहरूका अहिले ४ सन्तान छन् ।

उनीहरुको परिवार ओटावाको रकक्लिफ पार्क नजिकै सर्नु अघि टोरन्टोमा बसोबास गथ्र्यो । त्यसपछि सन् २०१३ मा लन्डन सरेका थिएका थिए । कार्नीले बैंक अफ इग्ल्याण्डमा आफ्नो भूमिका छोडेपछि उनीहरू ओटावा फर्किए ।

कार्नी फ्रेन्च भाषा पनि राम्रोसँग बोल्छन् । उनीसँग क्यानडाली नागरिकता त हुने नै भयो, यसका साथै आयरिश र बेलायती नागरिकता पनि उनीसँग छ । तर, अहिले आयरिश र बेलायती नागरिकता खारेजीको प्रक्रियामा छ ।