काठमाडौंसहित केही ठाउँमा बदली र वर्षा, उडान प्रभावित

काठमाडौंसहित केही ठाउँमा बदली र वर्षा, उडान प्रभावित



काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा अन्तर्राष्ट्रिय उडानको विमान अवतरण गर्ने क्रममा हावाको गति नमिलेपछि ओभरसुट गर्‍याे । यस्तै दुई वटा विमान आकाशमा निकैबेर ‘होल्ड’ भएपछि अवतरण भए ।

यसअघि हिजो पनि चार वटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा होल्ड गर्नुपरेको थियो । हिजो आन्तरिकतर्फका तीन वटा विमान पनि खराब मौसमकै कारण आकाशमा होल्ड गर्नुपरेको थियो ।

प्रतिकूल मौसमका कारण आवश्यक ‘भिजिबिलिटी’ नहुँदा एक हप्तादेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ ।

नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुने गरेको छ । न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड र ‘मिस–एप्रोच’ हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

हिजो बेलुका काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मध्यम वर्षा भयाे । आज बेलुका पनि काठमाण्डौसहित बागमती र कोशी प्रदेशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, गोरखा, लमजुङलगायतका जिल्लामा बदली भएर पानी परिरहेको छ । लमजुङको रैनासटारमा एक घण्टामै २४ मिलिमिटरभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीन/चार दिन मौसम बदली रहने मौसमविदकाे अनुमान छ ।