काठमाडौं । २५ करोडसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा यसअघि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लैजाँदैगर्दा उनलाई गएराति पक्राउ गरेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
विशेष सूचनाका आधारमा राजधानीको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ ।
उनी यसअघि ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
प्रतिक्रिया