भेप तस्करीमा मुछिए भाटभाटिनी साहु

भेप तस्करीमा मुछिए भाटभाटिनी साहु


ग्लोब नेपाल
999
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गरेका भाटभाटिनी साहु मीनबहादुर गुरुङ भेप (विद्युतीय चुरोट) तस्करीमा मुछिएका छन् । भाटभटेनी सुपरमार्केटको समान बोकेको ना. ६ ख ५४९६ नम्वरको ट्रक प्रहरी चेकपोस्ट खुर्सानीवारी सिन्धुपाल्चोकले मङ्गलवार राति पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

ट्रकवाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । बरामद भएका सामाग्रीसहित चालक भोटेकोसी गाउँपालिका–२ का प्रवीण खत्री र ट्रक  नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

नेकपा माओवादी केन्द्रका सांसद हरि कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परेपछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् । 

‘एमालेका जग्गा दाता मीनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा भेप भेटिएको छ, जग्गा दाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाई संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने ।