काठमाडौं । एउटा नयाँ अध्ययनले मानव उद्विकासबारे पुरानो धारणालाई चुनौती दिँदै नयाँ खुलासा गरेको छ । प्रसिद्ध विज्ञान जर्नल ‘नेचर’ मा प्रकाशित आलेखले मानव उद्विकासबारे पुरानो धारणालाई चुनौती दिँदै नयाँ दाबी गरेको हो ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका अध्येताहरूको अनुसन्धानात्मक अध्ययनको निचोडले आनुवंशीविद्हरूमा नयाँ बहस शुरू गराएको छ । आलेखमा झन्डै १५ लाख वर्षअघि दुई वटा मानव समूह उत्पत्ति भएका र झन्डै तीन लाख वर्षअघि ती दुई समूहका मानवबीच समागम भएर अर्कै स्वरूपको मानव जन्मिएको उल्लेख छ । दुई फरक समूहका मानवबीचको सम्पर्कबाट जन्मिएको मानव नै आधुनिक मानव भनिने होमो–सेपियन्स रहेको आलेखमा दाबी छ ।
अध्येताहरूका अनुसार आधुनिक मानवमा प्राचीन दुई समूहमध्ये एउटाको ८० प्रतिशत र अर्काको २० प्रतिशत आनुवंशिक योगदान रहेको छ । जीनको पूर्ण सिक्वेन्स गरी त्यसको उन्नत विश्लेषण गरेर डीएनए परिणाम हेर्दै नतिजा निकालिएको अध्येताहरूले जनाएका छन् ।
अहिलेसम्म आधुनिक मानव भनिने होमो–सेपियन्स एकल जनसङ्ख्याको उत्तराधिकारी रहेको विश्वास छ । आज संसारभर रहेका आधुनिक मानवको पुर्खा झन्डै तीन लाख १५ हजार वर्षअघि अफ्रिकामा उद्विकास भएको विस्तारित भएर बाँकी संसारभर फैलिएका मानिँदै आएको छ । यसअघिका अध्ययनहरू पनि होमो–सेपियन्समा नियन्डरथल, डेनिसोवन, हब्बिट्ससहितका मानव समूहको आनुवंशिक रहेको मानिए पनि ती मिश्रणहरू झन्डै ५० हजार वर्षअघि अफ्रिकाबाट बाहिरिएको जनसङ्ख्यामा मात्रै भएको उल्लेख छ ।
नयाँ अध्ययनले भने नियन्डरथल, डेनिसोवनहरूको आनुवंशिक मिश्रण आधुनिक मानवमा हुनुभन्दा धेरै पहिले नै दुई छुट्टै मानव समूहको आनुवंशिक मिश्रणको परिणाम स्वरूप आधुनिक मानवको उदय भएको निष्कर्ष निकालेको छ ।
अनुसन्धानात्मक आलेख सार्वजनिक भएपछि प्रेस नोट निकालेर अध्येता एइल्विनले मानव इतिहास हामीले सोचेभन्दा बढी समृद्ध र जटिल रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया