काे हुन् कैलालीको जंगलमा एक सातादेखि बसिरहेका डेढ सय विदेशी

काे हुन् कैलालीको जंगलमा एक सातादेखि बसिरहेका डेढ सय विदेशी



काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना १५० भन्दा बढी विदेशी नागरिक बसोबास गरिरहेका पाइएको छ ।

केही नेपालीसहित १६ देशका नागरिकहरू जंगलमा बसिरहेको थाहा पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल निरीक्षण गर्न गएका थिए ।

उनले त्यहाँ १६ देशका झन्डै डेढसय मानिसहरूको गतिविधि अमर्यादित देखिएकाे बताए ।

भारत, अमेरिका, चीन लगायतका विभिन्न देशका नागरिक रेन्बो फेमिली ग्यादरिङ भन्ने विश्वभरिको अनलाइन ग्रुप आएको र कुनै आधिकारिक निकायबाट अनुमति नलिई बसिरहेको पाइएकाे जानकारी दिए ।

प्रजिअ हमालले भने, ‘त्यहाँ घुम्नका लागि अनुमति पनि लिएका थिएनन् । निरीक्षणमा जाँदा उनीहरू दाउरा बालेर बसिरहेको भेटिएका थिए । केही लागुपदार्थको नशामा थिए । उनीहरूलाई गन्तव्यतर्फ जान निर्देशन दिइएको छ ।’

याे समयमा जंगलमा आगो बाल्दा डढेलोको खतरा हुने र त्यति धेरै मानिसहरू एकैठाउँमा बस्दा आपसमा विवाद र झगडा हुन सक्ने खतरा भएकाले पनि उनीहरूलाई तत्काल जंगल छाड्न भनिएकाे प्रशासनले बताएकाे छ ।

उनीहरू आफूलाई प्रकृति प्रेमी (नेचर लभर) भन्ने गरेकाे पाइएकाे छ । उनीहरुले विभिन्न देशका प्राकृतिक स्थानहरूमा पुगेर बस्ने गरेको बताएका छन् । प्रशासनले भनेको कार्यान्वयन नभए कानुनअनुसार प्रक्रिया अगाडि बढाउने बताइएकाे छ ।

ग्रुपमार्फत् स्थानीय केही मान्छेसँग समन्वय गरी विदेशीहरू जंगलमा बस्न आएको खुलेको छ ।

स्थानीयबाट विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अमर्यादित गतिविधि गर्नेजस्ता गुनासो आएपछि जिल्ला सुरक्षा समितिका प्रमुखहरू समेत हमाल अनुगमनमा गएका थिए । प्रशासनले शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने कुनै गतिविधि नभेटिए पनि कानुनी रूपमा अनुमति नलिएको हुनाले बसोबास गर्न नदिने निर्णय गरेको हो ।

उनीहरू कोसँगको समन्वयमा नेपाल आए र त्यसरी बसेको भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।

स्थानीय पत्रिकाले जंगलमा विदेशी नागरिकहरू जम्मा भएर बसेकाे समाचार सार्वजनिक गरेपछि दुई जना होटल व्यवसायीहरू चेतबहादुर सिंह र डबलबहादुरले पत्रकारमाथि नै कुटपिट गरेको आरोप छ ।

जाहेरीपछि उनीहरू पक्राउ परिसकेका छन् । यस सम्बन्धमा पत्रकार महासंघ कैलालीले घटनाको सत्यतथ्य जाँच गर्न माग गरेको छ ।