झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने

झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने



वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि एल साल्भाडोरमा अपराधिक समूहहरूलाई डिपोर्ट गर्दा झुक्किएर एक पुरुषलाई पनि डिपोर्ट गरेको थियो । किलमार अर्मान्डो अब्रेगोलाई फिर्ता ल्याउन अमेरिकाले सहजीकरण गर्नैपर्ने अमेरिकी सर्वोच्च अदालतले फैसला नै सुनाएको थियो ।

तर ह्वाइट हाउसका अधिकारीहरूले उनलाई फिर्ता ल्याउने जिम्मा सबै एल साल्भाडोरको भएको तर्क गरिरहेका छन् । सोमबार ओभल अफिसमा भएको बैठकमा सोमबार ट्रम्प प्रशासन र एल साल्भाडोरका राष्ट्रपति नायिब बकेलेले अब्रेगोलाई अमेरिका फिर्ता नल्याइने स्पष्ट पारेका थिए ।

उनलाई फिर्ता गर्ने योजना छ कि छैन भनेर सीएनएनका एक पत्रकारले सिधै बकेलेलाई प्रश्न गरेकी थिइन् । यसो गर्नु मूर्खतापूर्ण हुने यसको उत्तरमा उनले बताएका थिए । ‘मलाई आशा छ कि मैले एक आतंकवादीलाई अमेरिका तस्करी गर्छु भनेर तपाईँले भन्न खोज्नु भएको हो ?’ बकेलेले उल्टै प्रश्न गरेका थिए, ‘म आतंकवादीलाई अमेरिका कसरी पठाउन सक्छु ? पक्कै पनि म यसो गर्ने छैन । यो प्रश्न नै मूर्खतापूर्ण हो ।’

हालैका दिनमा एक अमेरिकी न्यायाधीशले अब्रेगोलाई अमेरिका फिर्ता ल्याउन दिएको आदेशको ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले विरोध गरेका थिए । अदालतले अमेरिकाको विदेश नीतिमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको तर्क थियो ।