काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई एक महिनाअघि नै सफाइ दिएको खुलेकाे छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।
भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।
जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनी २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ परेका थिए । र, उनलाई सिन्धुपाल्चोक कारागार चलान गरिएको थियो ।
उनीमाथि नुवाकोट, सिन्धुपाल्चोक र बारामा समेत मुद्दा छ । तर, अन्य जिल्लाले उनलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश गरेका कारण थुनामुक्त भएका हुन् । सिन्धुपाल्चोक कारागारबाट बम्जनलाई उनकी श्रीमती र अन्य केही व्यक्तिले बुझेको निमित्त जेलर निरजराम दमाईले बताए ।
थुनामुक्त भएका बम्जन कहाँ बसेका छन् भन्ने खुलेको छैन । उनको सिन्धुलीसहित विभिन्न जिल्लामा आश्रम छ ।


प्रतिक्रिया