प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

वर्षा गराउने प्रणाली काेशी प्रदेशसम्म पुग्याे



काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रियतर्फको इन्डिगो विमान डाइभर्ट भई भारतको वाराणसी पुगेको त्रिभुवन विमानस्थलका स्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

यस्तै, आन्तरिकतर्फ भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलको मौसम प्रतिकूल बन्दा उडानहरू प्रभावित भएका थिए ।

मौसम सुधार भएपछि भैरहवातर्फको उडान अहिले सुचारु भएको छ भने बाँकी पश्चिमी क्षेत्रको उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

वर्षा गराउने प्रणाली काेशी प्रदेशसम्म पुग्याे

सुदूरपश्चिमबाट सक्रिय भएको हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म पुगेको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव थपिएकोले हावाहुरी र चट्याङसहित केही ठाउँमा निकै ठूलो वर्षा गराएको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कानुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

यस्तै स्याङ्जामा ५१ मिलिमिटर र दोलखाको जिरीमा ४० मिलिमिटर वर्षा भएको छ । बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

अहिले सक्रिय भएको प्रणालीले आउँदो ३ दिनसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान्छ । जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।

नेपालको आकाशमा सक्रिय रहेको प्रणाली शनिवारसम्म देशभर फैलिएर जाने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि–मनसुनयाममा अहिले उल्लेख्य वर्षा भइरहेको छ ।