काश्मीर आक्रमणकारीलाई पृथ्वीको कुना-कुनासम्म खोज्ने मोदीको प्रतिज्ञा

काश्मीर आक्रमणकारीलाई पृथ्वीको कुना-कुनासम्म खोज्ने मोदीको प्रतिज्ञा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने प्रतिज्ञा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गरेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै मोदीले भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्ने, पछ्याउने र दण्डित गर्ने बताए । बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले आतङ्कवादीहरूको मेरुदण्ड तोड्ने चेतावनी समेत दिए ।

यसैबीच, पाकिस्तानले आतंककारी आक्रमणपछि भारतले प्रतिशोधात्मक कदम चालेको भन्दै जवाफी कदम चालेको छ । बिहीवार राष्ट्रिय सुरक्षा समितिको बैठकपछि पाकिस्तानले भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले सिन्धु जल सन्धि निलम्बन गरेको कुरा अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य मानिने टिप्पणी गरेको छ ।

उसले यस कदमको पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने’ चेतावनी समेत दिएको छ । ‘कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित तथ्यविना’ पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास ‘व्यर्थ, तर्कहीन र पराजित मानसिकता’ भएको प्रधानमन्त्री शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।