काठमाडौं । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी अमेजनले कुइपर परियोजनाअन्तर्गत इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
अमेरिकी अर्बपति एलन मस्कको स्टारलिङ्कलाई टक्कर दिँदै अमेजनले पहिलो चरणमा २७ वटा स्याटेलाइटको पहिलो समूह प्रक्षेपण गरेको रोयटर्सले जनाएको छ ।
फ्लोरिडाको केप केनाभेरल स्पेस फोर्स स्टेशनबाट एटलस भी रकेट प्रयोग गरेर ती स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा पठाइएका छन् । अमेजनले कुइपर परियोजनाअन्तर्गत तल्लो–पृथ्वी कक्षमा ३ हजार २ सय ३६ वटा स्याटेलाइट पठाउने योजना बनाएको छ ।
बेजसले भर्खरै आफ्नी प्रेमिकासहित ६ जना महिला सेलेब्रिटीलाई ११ मिनेट लामो अन्तरिक्ष यात्रामा पठाएर चर्चा र आलोचना दुवै कमाएका थिए । उनकै कम्पनी अमेजनले स्याटेलाइटमा आधारित ब्रोडब्यान्ड सेवा विस्तार परियोजनामा १० अर्ब अमेरिकी डलरको लगानी प्रतिबद्धता जनाएको रोयटर्सले उल्लेख गरेको छ । यसको मुख्य उद्देश्य अहिलेसम्म कनेक्टिभिटी निकै कमजोर रहेका क्षेत्रहरूमा इन्टरनेट प्रदान गर्नु हो ।
स्याटेलाइट इन्टरनेट बजार यस दशकको अन्त्यसम्म १९ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान गरिएका बेला अमेजनले यो परियोजनामार्फत एलन मस्कको कम्पनी स्पेसएक्स र स्टारलिङ्कसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।
स्पेसएक्सले अहिलेसम्म झन्डै ७२ सयभन्दा बढी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ भने भविष्यमा ४२ हजार स्याटेलाइट जडान गर्ने योजना सार्वजनिक गरेको छ । यस्तै वानवेब र टेलिस्याटजस्ता कम्पनीहरू पनि स्याटेलाइट इन्टरनेट क्षेत्रमा आफ्नो बजार बढाउने प्रयासमा देखिन्छन् ।
चीनले अमेजन प्रक्षेपणको केही घन्टापछि नै आफ्नै स्याटेलाइट इन्टरनेटसँग सम्बन्धित थप स्याटेलाइटहरूको प्रक्षेपण सम्पन्न गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यास्सीले शुरूमा ठूलो लगानी आवश्यक पर्ने तर भविष्यमा यसले राम्रो आम्दानी र लगानीमा ठूलो प्रतिफल दिने अपेक्षा गरेको बताएका छन् ।
प्रतिक्रिया