भारत र पाकिस्तानबीच तनाब बढेको छ । कश्मीरमा अघिल्लो साता भएको आतंकवादी आक्रमणपछि दुई देशको तनाव चुलिएको हो । यसैबीच पाकिस्तानले भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ । भारतले पाकिस्तानका रक्षा मन्त्रीको सामाजिक सञ्जाल एक्सको खाता भारतमा बन्द गरिदिएको छ ।
अप्रिल २२ मा जम्मू कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो । आक्रमणपछि, भारतले पाकिस्तानविरुद्ध सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा बन्द गर्ने र भिसा सुविधा फिर्ता लिने निर्र्णय गरिसकेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानले पनि दुई देशबीचका सबै द्विपक्षीय सम्झौताहरू निलम्बन गर्ने, शिमला सम्झौतासहित, हवाई क्षेत्र र सीमाना बन्द गर्ने, व्यापार निलम्बन गर्ने र भारतलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
भारत जस्तै पाकिस्तानले पनि रक्षा सल्लाहकार र उनीहरूका सहयोगीहरूलाई देश छोड्न भनेको छ । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् ।
सुरक्षा सावधानीका लागि ८७ वटा सरकारी अनुमतिमा चल्ने रिसोर्टमध्ये ४८ वटा बन्द गर्ने निर्णय लिइएको हो । उता भारतले आगामी २४–३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्न सक्ने पाकिस्तानले दाबी गरेको छ ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले ३६ घण्टाभित्र भारतले पाकिस्तानमा सैन्य कारबाही गर्न सक्ने गुप्तचर जानकारी प्राप्त भएको बताएका हुन् ।
प्रतिक्रिया