एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम भक्तपुरमा सम्पन्न

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम भक्तपुरमा सम्पन्न



काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऐतिहासिक सम्पदा संरक्षण र सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गर्दै आएको “हेरिटेज वाक” कार्यक्रमको बाह्रौं संस्करण शनिबार भक्तपुरमा सम्पन्न भएको छ।

कार्यक्रम बैंकको गट्ठाघर शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन गरिएको थियो। यस सांस्कृतिक पदयात्रामा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य, मध्यपुर थिमी नगरपालिकाका प्रतिनिधि तथा सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता रहेको थियो।

एनएमबि बैंकले समृद्ध नेपाल निर्माणका लागि ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको भन्दै यस्तो प्रकारको कार्यक्रममा निरन्तरता दिँदै आएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमी नगरपालिकाका मेयर श्री सुरेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा बैंकले नेपाल हेरिटेज सोसाइटीलाई सम्पदा तथा वातावरण संरक्षणको उद्देश्यले रु ५ लाख सहयोग हस्तान्तरण गरेको छ। साथै, नगरपालिकालाई सरसफाइ प्रवर्द्धन गर्न डस्टबिनहरू समेत प्रदान गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंकले यस्तै हेरिटेज वाक कार्यक्रम सातै प्रदेशमा समेत सम्पन्न गरेको छ। कोशी प्रदेशमा झापाको पाथिभरा मन्दिर, मधेश प्रदेशमा वीरगञ्जको शंकराचार्य गेट, बागमती प्रदेशमा भक्तपुर, गण्डकी प्रदेशमा पोखराको राममन्दिर, लुम्बिनी प्रदेशमा भल्वारीको मोक्षधाम सेवा आश्रम, कर्णाली प्रदेशमा काक्रेविहार मन्दिर, र सुदूरपश्चिम प्रदेशमा गोदावरी शिवमन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सञ्चालन गरिएको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।