नेपालका कार्यालयमा पनि AI अपनाउने समय आएको हो ?

नेपालका कार्यालयमा पनि AI अपनाउने समय आएको हो ?



काठमाडौं । हालै गूगलको अनुसन्धान टोलीले सार्वजनिक गरेको प्रतिवेद अनुसार कर्मचारीहरूले प्रशासनिक कार्यहरूमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गर्दा वार्षिक १२२ घण्टा समय बचत गर्न सकिन्छ ।

रिपोर्ट अनुसार, केवल सामान्य तालिम र प्रयोगको अनुमति दिँदा नै AI को उपयोग दोब्बर भएको छ। यो तथ्यले नेपालजस्तो देशका लागि अझ बढी सन्देश दिन्छ । जहाँ सरकारी तथा निजी कार्यालयहरूमा कर्मचारीमाथि कामको चाप अत्यधिक हुन्छ, र समय व्यवस्थापन सधैं चुनौतीपूर्ण विषय रहन्छ ।

नेपालका धेरै कार्यालयहरू आज पनि कागजी प्रक्रियामा निर्भर छन्, जसले गर्दा समय र श्रम दुबै ठुलो मात्रामा खर्चिन्छ । यस्तो अवस्थामा, यदि यी कार्यालयहरूले ChatGPT, Google Gemini, Microsoft Copilot जस्ता साधारण AI टुलहरूलाई तालिमसहित प्रयोग गर्न थाले, भने दैनिक पत्राचार, प्रतिवेदन लेखन, ईमेल तयार पार्ने, र डेटा विश्लेषण जस्ता काममा क्रान्तिकारी सुधार ल्याउन सकिन्छ । यसले कार्यालयको गति मात्र होइन, सम्पूर्ण कार्यसंस्कृति नै आधुनिक बनाउने सम्भावना राख्छ ।

गूगलको अध्ययनले देखाएको अर्को महत्त्वपूर्ण पक्ष भनेको मानसिक अवरोध हो। धेरै कर्मचारीहरू AI प्रयोग गर्दा, ‘के यो ठिक होला?’ भन्ने सोचमा फस्छन् । नेपालमा पनि प्रविधि प्रयोग गर्नु अझै एउटा झन्झट वा थप सिकाइको बोझ जस्तो महसुस गरिन्छ। तर, अध्ययनले यो पनि देखाएको छ कि केही घण्टाको तालिम र प्रोत्साहनपूर्ण वातावरणले कर्मचारीहरूको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

नेपाल सरकारले राष्ट्रिय डिजिटल नीति निर्माणको तयारी गर्दैछ, तर AI सम्बन्धी स्पष्ट निर्देशिका अझै अभावमा छ । यदि सरकारले यसलाई प्राथमिकतामा राखी, सरकारी कार्यालयहरूमा AI उपयोगलाई स्पष्ट रूपले समर्थन गर्ने नीति ल्यायो भने, यो प्रविधि नेपालको प्रशासनिक कार्यशैलीमा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ ।

AI अब भविष्यको कुरा होइन, वर्तमानको आवश्यकता बनिसकेको गूगलको अध्ययनले प्रस्ट पारेको छ । कार्यालयको काम छिटो, सस्तो र प्रभावकारी बनाउन नेपालले अब ढिला नगरी यस प्रविधिलाई अंगाल्नुपर्ने समय आएको छ ।