पाकिस्तानमा भारतको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । मृत्यु हुने मध्ये एक जना ७ वर्षीय बालकसमेत रहेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन् । उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो देशले जेट खसालेको दाबी गरे ।
जम्मु कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमार शर्माको मृत्यु भएको छ । भारतले पाकिस्तान माथि गरेको हमलाप्रति विश्वस्तरमा चिन्ता र चासो व्यक्त गरिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको जनाएका छन ।
संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई संयमित रहन अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन अपिल गरेका छन । भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ । आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापार मन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन् ।
चीन सरकारले भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमण चिन्ताजनक रहेको टिप्पणी गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता माओ निङले वक्तव्यमार्फत भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेपछि दुई देशबीच युद्ध चर्कने सम्भावना देखिएको छ ।
प्रतिक्रिया