पुटिनलाई टर्किएमा म पर्खिरहेको हुनेछु: जेलेन्स्की

पुटिनलाई टर्किएमा म पर्खिरहेको हुनेछु: जेलेन्स्की


ग्लोब नेपाल
81
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बिहीबार इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘व्यक्तिगत रूपमा’ भेट्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा उनले रुसी राष्ट्रपति पुटिनलाई सम्बोधन गर्दै ‘टर्किएमा म पर्खिरहेको हुनेछु’ भनेर लेख्नु भएको हो । उनको यो पोस्ट एक्समा डोनल्ड ट्रम्पले युक्रेनलाई टर्कीमा दुई देशबीच प्रत्यक्ष वार्ताका लागि पुटिनको प्रस्ताव स्वीकार गर्न माग गरेलगत्तै आएको हो ।

जेलेन्स्कीले यसपटक रसियाले कुनै बहाना नबनाओस् भनेर सचेत समेत गराएका छन् ।

यसअघि जेलेन्स्कीले युद्धविराम भएपछि मात्र आफ्नो देश रुससँग वार्ता गर्न खुला रहेको बताएका थिए । युरोपेली नेताहरूले किएभमा शनिबार ‘इच्छुकहरूको गठबन्धन’ को नेतृत्व गरेपछि पश्चिमी शक्तिहरूले सोमबारदेखि ३० दिने युद्धविरामको आह्वान गरेका थिए ।

पुटिनको प्रत्यक्ष वार्ताको प्रस्ताव त्यस हस्तक्षेपपछि आएको हो । रुस र युक्रेनले मस्कोले आक्रमण सुरु गरेलगत्तै मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए ।

तीन वर्षभन्दा बढी समयपछि दुवै पक्ष सैद्धान्तिक रूपमा वार्ता पुनः सुरु गर्न सहमत भएका छन् । तर दुवै पक्षले आफ्ना अडानहरू कायमै राखेका छन् ।