प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचाको निधन

प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचाको निधन


ग्लोब नेपाल
10.6k
Shares

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस ओखलढुंगा तथा जिल्ला विकास समितिका पूर्व सभापति एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि महेशकुमार कोर्मोचाको शुक्रबार राति १०:४६ बजे निधन भएको छ । प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको बी एन्ड बी अस्पतालले जनाएको छ ।

ओखलढुंगा कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका कोर्मोचाको निधनमा संसदको राज्य व्यवस्था समितिका सभापति तथा ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद रामहरि खतिवडाले कोर्मोचाप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

‘कोर्मोचा हाम्रा आदर्णीय अभिभावक हुनुहुन्थ्यो’, सांसद खतिवडाले भने, ‘ओखलढुंगामा नेपाली कांग्रेसको संगठन अहिले जे छ, त्यसमा उहाँको नेतृत्वदायी भूमिकाबाट सम्भव भएको हो । उहाँले पटक पटक जेल सजाय भोग्नु भयो, टिमुरबोटे काण्डबाट बालबाल बच्नु भएको उहाँलाई पञ्चायतले मृत्युदण्डसमेत सुनाएको थियो ।’

‘एकदमै लोकप्रिय कोर्मोचा १२ भाषा बोल्न सक्ने क्षमता उहाँसँग थियो’ सांसद खतिवडाले भने, ‘बीपी कोइरालासँग समिपमा रहेर कांग्रेसका हरेक आन्दोलनमा उहाँ जोडिनु भएका छ । उहाँ कुशल संगठक मात्र हुनुहुन्थेन, सरल र मृदुभाषी ओखलढुंगाका प्रिय नेतासमेत हुनुहुन्थ्यो ।’

यसैगरी गुल्मीबाट प्रतिनिधित्व गर्ने सांसद चन्द्र भण्डारीले पनि कोर्मोचाको प्रशंसा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘पञ्चायती कालखण्डमा मृत्युदण्डको सजाय सुनाइएका, ब्रिटिस सेनाको जागीर छोडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका आन्दोलनका योद्धा, लामो समय जेल र प्रवासमा जीवन बिताउनु भएका नेपाली कांग्रेस ओखलढुंगाका पूर्व पार्टी सभापति, जिविस सभापतिसमेत रहनुभएका श्रद्धेय नेता महेश कोर्मोचा दाइप्रति भावपूर्ण श्रद्धाञ्जली !’

भण्डारीले लेखेका छन्, ‘आज जुन कलम चलाउँदैछौं, जे बोल्दैछौं, जहाँ जाँदैछौं, जुन प्रतिनिधि छान्ने अधिकार प्राप्त गरेका छौं उहाँहरु जस्ताको त्याग समर्पणसँग जोडिएको छ ।’

दुई पटक ओखलढुंगा जिल्ला सभापति समेत रहेका कोर्मोचा बीपी कोइरालासँग जोडिने थोरैमध्येका एक हुन् ।

पार्टीमा उनले हासिल गरेको अनुभव यस्तो छ–
– सदस्य, जिल्ला कार्य समिति नेपाली कांग्रेस ओखलढुंगा (२०२४–०३७)
– कमाण्डर, सशस्त्र आन्दोलन (२०३१)
– साङ्गठन सचिव, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा (२०३७–०३९)
– प्रचार प्रसार सचिव, नेपाली कांग्रेस ओखलढुंगा (२०३९–०४४)
– सचिव (जिल्ला समिति) नेपाली कांग्रेस ओखलढुंगा (२०४४–०४९)
– सदस्य गाउँ विकास समिति खिजी (२०४३-०४६)
– जेल जीवन (२०२७–०३३ सम्म दुइ पटक भारतमा समेत गरी दश पटक गिरफ्तारी)
– जेल जीवन, (२०३३–०३७ सम्म लगातार ५ वर्ष
– ब्रिटिश आर्मीमा सेवा (इ.सं. १९६०–१९६८)
– उपसभापति (स्ववियु) नेशनल कलेज काठमाडौं (२०२७)
– सदस्य, नेका जिल्ला कार्य समिति ओखलढुंगा (२०४९–०५२)
– केन्द्रीय सदस्य, नेपाल मानव अधिकारी संगठन ओखलढुंगा
– सभापति, जिल्ला विकास समिति ओखलढुंगा (२०४९–०५४)
– संरक्षक सदस्य, जेपी प्रतिष्ठान, (२०५१–०५४)
– सभापति, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा (२०५३–०५६)
– संयोजक, संगठन उपसमिति नेपाली कांग्रेस (२०५३–०५६)