पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन



पर्वत । स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ ६ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

महाशिला गाउँपालिकाले साविक बालाकोट गाविसको कार्यालयबाट सेवाप्रवाह गर्दै आएकोमा हालै आफ्नै भवन निर्माण सम्पन्न गरेको छ ।

स्थापनाकालदेखि भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको मोदी गाउँपालिकाले वि.सं. २०८० माघदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।

यसैगरी पैँयूगाउँपालिकाले गत साउन २५ गतेदेखि आफ्नै भवनवाट सेवाप्रवाह सुरु गरेको हो । विहादी गाउँपालिकाले पनि विगत तीन वर्षदेखि आफ्नै कार्यालयबाट सेवा दिँदै आएको छ ।

जलजला गाउँपालिकाले गत जेठ १ गतेदेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको हो । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

ग्रामीण र दुरदराजका स्थानीय तहले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बल्ल भवन निर्माण सुरु गरेको हो ।

गत मङ्सिर देखि भवन निर्माण सुरु भएको हो । हालसम्म करिब २० प्रतिशत काम भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार रु १४ करोडमा बन्ने सो भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखा सञ्चालन गरेको छ ।

मासिक रु एक लाख ५० हजार भाडा तिर्दै आएको छ ।