जेठ १५ को जनप्रदर्शनका लागि एमाले नेताहरूको जिम्मेवारी बाँडफाँड

जेठ १५ को जनप्रदर्शनका लागि एमाले नेताहरूको जिम्मेवारी बाँडफाँड

कसलाई के जिम्मेवारी ?



काठमाडौं । नेकपा एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनलाई सफल पार्न नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरुको जिम्मेवारी बाँडफाँडको सूची जानकारी गराइएको हो ।

महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवशलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरुले फैलाएका भ्रमहरु चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो ।

महासचिव पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरुले सघाउनेछन् ।

सुदुरपश्चिम र र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदिप ज्ञवालीलाई दिइएको छ । लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्म सचिव पद्मा अर्याललाई तोकिएको छ ।

कोशी प्रदेशका जिल्लाहरुको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेस प्रदशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरुको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमश: अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ ।

गणतन्त्र दिवशका दिन जेष्ठ १५ गते विहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी,जनसंगठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ ।