काठमाडौंमा सिद्धयोग जागरण : विद्यार्थीलाई लक्षित गर्दै निशुल्क योग तथा ध्यान कार्यक्रम सम्पन्न

काठमाडौंमा सिद्धयोग जागरण : विद्यार्थीलाई लक्षित गर्दै निशुल्क योग तथा ध्यान कार्यक्रम सम्पन्न


ग्लोब नेपाल
0
Shares

काठमाडौं: जोधपुर, राजस्थानस्थित अध्यात्म विज्ञान सत्संग केन्द्रबाट काठमाडौं केन्द्रित निशुल्क योग तथा ध्यान कार्यक्रम सम्पन्न गरिएको छ। प्रोफेसर राम लालको नेतृत्वमा आएको चार सदस्यीय टोलीले जेठ ५ देखि १४ गतेसम्म राजधानीमा विविध स्थानमा कार्यक्रम सञ्चालन गरेको हो।

टोलीले स्कुल, कलेज, योग केन्द्र, आश्रम र सार्वजनिक स्थलहरूमा कुण्डलिनी जागरण ध्यान र सिद्धयोगसम्बन्धी अभ्यास गराउँदै प्रत्यक्ष अनुभूति दिने अवसर उपलब्ध गराएको थियो।

कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूमा एकाग्रता विकास, मानसिक-शारीरिक सन्तुलन र पढाइप्रति प्रेरणा जगाउनु थियो। छोटो अवधिको मन्त्र र ध्यान अभ्यासबाट सहभागीहरूले तत्कालै अनुभूति पाएको प्रतिक्रिया दिएका छन्।

सिद्धयोगलाई महायोग वा पूर्णयोग पनि भनिन्छ। यसमा भक्तियोग, हठयोग, राजयोग र कर्मयोगजस्ता विभिन्न योगमार्ग समावेश हुन्छन्। अन्य योग विधिहरूभन्दा सरल, लचिलो र व्यावहारिक मानिने यस पद्धतिमा कुनै विशेष खानपान वा जीवनशैली त्याग्नु नपर्ने भएकाले अनुसरण गर्न सजिलो रहेको टोलीले जानकारी दिएको छ।

यो पद्धतिले नशाजन्य बानीहरूलाई पनि बिस्तारै हटाउँदै स्वस्थ जीवनशैलीमा डो-याउने विश्वास गरिएको छ। भारतमा प्रचलित भएपनि नेपालमा थोरै मात्र मानिसहरूमा यसको जानकारी रहेकोमा, यसपटकको अभियानले ठूलो संख्यामा जनमानसमा यसको प्रचार–प्रसार भएको आयोजकको भनाइ छ।