काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
सडक ढाकेर गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको छ ।
निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । ‘संविधानविपरीत’ प्रदेश सरकारले ऐन बनाई कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया