काठमाडौं । व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दुई वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।
नक्सालबाट बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ ।
यस्तै नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।
बढी भाडा नलिन निर्देशन
प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड शेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु बोक्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो ।
यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया