बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्मा पेस गरेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख पाठकले प्रस्तुत गरेको उक्त प्रस्तावलाई प्रदेशसभा बैठकमा उपस्थित बहुमत सदस्यहरूले हुन्छ भनेर स्वीकृत गरेका थिए ।

प्रदेशसभाको बैठकमा सरकारको नीति कार्यक्रम माथि ३ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका थिए । बैठकमा माओवादी केन्द्रबाट सुस्पा भुजेट समेत ५ जनाले संशोधन प्रस्ताव राखेका थिए भने युवराज चौलागाई र सृजना सायजुले संशोधन प्रस्ताव राखेका थिए । उनीहरूको संशोधन प्रस्तावलाई प्रदेशसभाको बैठकबाट बहुमतले अस्वीकृत गरिएको थियो ।

जेठ १४ गते बसेको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।