रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले एयर बेसमा गरेको ड्रोन आक्रमणको जवाफ दिने तयारी गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिसँग गरेको फोन वार्तापछि एयर फिल्डमा भएको हमलाको जवाफी कारबाही गर्ने तयारी गरिरहेको खुलासा गरेका हुन् । रुसले पनि सैन्य कारबाही छलफलको विषय भइरहेको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले एक घण्टा बढी समय भएको सो फोन वार्तामा युद्ध विरामका लागि ठोस केही नभएको समेत बताएका छन । रुसको सरकार नियन्त्रित सञ्चार माध्यमले पुटिनले ट्रम्पसँगको वार्तामा युक्रेन युद्धबाट भागेको तथा किभ आतङ्ककारी संगठनमा परिणत भइरहेको बताए । जुन एकमा रुसी एयर बेसमा युक्रेनको आक्रमण गरेपछि यी दुई नेताको बीचमा पहिलो पटक फोन वार्ता भएको हो ।
यसअघि रुसले युक्रेनका सर्वसाधारणको ज्यान जाने गरी किभमा गरेको मिसाइल आक्रमणपछि ट्रम्पले पुटिनलाई पागलको संज्ञा दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिन कहिले पनि युद्ध विरामका लागि सचेत नभएको आरोप लगाएका छन । रुस सधैँ युद्ध पक्षमा रहेको तथा शान्ति नचाहने आरोप समेत उनले बताए ।
बुधबार नै युक्रेनी उप प्रधानमन्त्री युलिया सारेडेन्को र राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे यर्माकले वाशिङ्टनमा अमेरिकी सिनेटरसँग हतियार खरिद तथा शान्ति वार्ताको विषयमा छलफल भएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया