ट्रम्पद्वारा पुनः यात्रा प्रतिबन्ध, १९ देशका नागरिकलाई अमेरिका जान रोक

ट्रम्पद्वारा पुनः यात्रा प्रतिबन्ध, १९ देशका नागरिकलाई अमेरिका जान रोक



काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा पदबहालीको पहिलो दिनमै एक कार्यकारी आदेशमार्फत नयाँ यात्रा प्रतिबन्ध जारी गरेका थिए। जसले १२ देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेश गर्न प्रतिबन्ध लाग्यो भने थप ७ देशका यात्रुहरूलाई आंशिक रूपमा रोक लागेको थियो।

ट्रम्पको यो प्रतिबन्ध २०१७ मा उनले पहिलो पटक जारी गरेको विवादास्पद ‘मुस्लिम यात्रा प्रतिबन्ध’को विस्तारित रूप हो, जुन अन्ततः अमेरिकी सर्वोच्च अदालतबाट अनुमोदित भएको थियो। उक्त प्रतिबन्धलाई राष्ट्रपति जो बाइडेनले २०२१ मा पद ग्रहण गरेपछि खारेज गरेका थिए।

पहिलो यात्रा प्रतिबन्ध

सन् २०१५ मा राष्ट्रपतिको पहिलो उम्मेदवारीको बेला ट्रम्पले ‘मुस्लिमहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध’ को माग गर्दै एक विवादास्पद वक्तव्य दिएका थिए। त्यसपछि, २०१७ जनवरी २७ मा पद ग्रहण गरेको केही दिनमै ट्रम्पले सात मुस्लिम बहुल देशहरू— इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया, र यमनका नागरिकहरूलाई अमेरिका प्रवेशमा ९० दिनको अस्थायी प्रतिबन्ध लगाएका थिए।

तर उक्त निर्णयसँगै अमेरिकाभरका विमानस्थलहरूमा अराजकता देखियो, विरोध प्रदर्शन भए, र अदालतमा मुद्दा दायर गरियो। अन्ततः अदालतले प्रारम्भिक प्रतिबन्धलाई रोक लगायो, जसपछि ट्रम्प प्रशासनले केही संसोधन गर्दै नयाँ संस्करणहरू ल्यायो। तेस्रो संस्करणलाई अमेरिकी सर्वोच्च अदालतले २०१८ मा अनुमोदन दियो, जसमा उत्तर कोरिया र भेनेजुएलाका सरकारी अधिकारीहरूलाई पनि समेटिएको थियो।

२०२५ को नयाँ प्रतिबन्ध

नयाँ प्रतिबन्धले १२ देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाएको छ। जसमा अफगानिस्तान, बर्मा, चाड, कङ्गो (गणतान्त्रिक), इक्वेटोरियल गिनी, एरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लिओन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाबाट आउने यात्रुहरूलाई आंशिक प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले प्रतिबन्धको औचित्य पुष्टि गर्दै भने, “यी देशहरूमा आवेदकहरूको पहिचान, पृष्ठभूमि जाँच र सुरक्षा परीक्षण पर्याप्त छैन।” उनले पछिल्लो समय बोल्डर, कोलोराडोमा भएको आगजनी आक्रमणलाई उदाहरण दिँदै यस्तो नीतिको आवश्यकता भएको दाबी गरे। यद्यपि उक्त आक्रमणमा संलग्न व्यक्ति इजिप्टका नागरिक हुन्, जुन देश सूचीमा छैन।

नयाँ प्रावधान र आलोचना

नयाँ कार्यकारी आदेशले राज्य विभाग र अन्य निकायहरूलाई विगतमा बाइडेन प्रशासनद्वारा ती देशहरूबाट भिसा प्राप्त गरेका व्यक्तिहरूको विवरण सङ्कलन गर्न आदेश दिएको छ र आवश्यकता परेमा ती भिसाहरू ‘पुनरावलोकन’ गरी खारेज गर्ने चेतावनी दिएको छ।

अमेरिकामा अफगानी नागरिक व्यवस्थापन गर्ने एक संस्थाका प्रमुख शाँन भ्यानडाइभरका अनुसार, “विशेष आप्रवासी भिसा पाएका केही अफगानहरूलाई छूट दिइए पनि, हजारौंका संख्यामा रहेका पूर्वस्वीकृत वा प्रक्रियामा रहेका अफगानहरू र उनीहरूका परिवारहरूलाई अब पुनः अमेरिका पुग्न रोक लाग्नेछ।”

मानव अधिकारकर्मीहरूले यो नीति राष्ट्रीय सुरक्षाभन्दा बढी ‘राजनीतिक हतियार’ भएको भन्दै आलोचना गरेका छन्।