वर्षा लागेपछि त्रासमा बस्छन् वागमती किनारका बासिन्दा

वर्षा लागेपछि त्रासमा बस्छन् वागमती किनारका बासिन्दा



सर्लाही । उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वागमती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने वाग्मती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ ।

खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ ।

सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले हरेक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन शुरू भएसँगै बाढीको त्रास बढ्न थालेको बताए । ‘वर्षा शुरू भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन’, उनले भने, ‘गत वर्ष खोलाले दुई/तीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ ।’ आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उहाँले अनुभव सुनाए ।

गत वर्ष वाग्मतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो । वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताए । जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि वाग्मतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उहाँको भनाइ छ ।

रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष वाग्मती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए । उनले भने, ‘फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ ।’

उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । ‘चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति बितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ’, उनले गुनासो पोखे ।

चुरेको काखमा वाग्मती खुम्चिएर बगेको भए पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ । नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा वाग्मतीले आफ्नो क्षेत्र फैलाएर झन्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । ‘वाग्मतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ’, बलरा–१ का हरिशरण कापरले भने । वाग्मतीको बाढीले उहाँको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो ।

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ । विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए । खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आँकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ विचल्ली हुन नपर्ने उनको भनाइ छ ।